कीर्तिपुर कार आगलागीको रहस्य खुल्यो, व्यवसायी श्रेष्ठले आत्मदाह गरेको प्रहरी निष्कर्ष

६ श्रावण २०८३, बुधबार १७:३१

काठमाडौं । कीर्तिपुरको ट्याङ्गलाफाँट क्षेत्रमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय औषधि व्यवसायी सुरेशचन्द्र श्रेष्ठको मृत्यु आत्मदाहबाट भएको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको छ।

काठमाडौं महानगरपालिका–२६, नरदेवी स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय परिवारसहित कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए। प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ः२० बजे उनी आफैंले बा.५ च ३०३८ नम्बरको कार चलाउँदै ट्याङ्गलाफाँटको चाँदनी चोक नजिक पुगेका थिए। मुख्य सडकबाट केही पर रहेको खुला स्थानमा कार रोकेपछि केहीबेरमै सवारीसाधनभित्र आगो लागेको देखिएको थियो।

घटनास्थल वरपर रहेका स्थानीयले आगो देखेपछि उद्धारको प्रयास गरेका थिए। सीसीटीभी फुटेजमा एक युवक कारको अगाडिको ढोका खोल्न पुगेको देखिएको छ। चालकतर्फको ढोका खोल्ने क्रममा ती युवकको हातसमेत पोलेपछि उनी पछि हटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएपछि चालक सिटमै श्रेष्ठको शव फेला पारेको थियो।

अनुसन्धानका क्रममा श्रेष्ठ पछिल्ला केही वर्षदेखि आर्थिक समस्यासँग जुधिरहेको तथ्य खुलेको प्रहरीले जनाएको छ। कोरोना महामारीपछि औषधि व्यवसायमा लगातार घाटा बेहोरेका कारण उनी ऋणको चापमा परेको र त्यसकै कारण मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा आर्थिक संकट र मानसिक दबाबकै कारण उनले कारभित्र आगो लगाएर आत्मदाह गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिँदै छ। साथै, यातायात व्यवस्था विभागको अभिलेखअनुसार उनले प्रयोग गरेको कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको देखिएको छ। उक्त सवारीसाधन सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*