नेपाली बजारमा सिएट टायरको दबदबा, एसटीसी अटोद्वारा ११ महिनामै १ अर्ब २० करोडको व्यापार

७ श्रावण २०८३, बिहीबार ११:३४

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीको एसटीसी अटो प्राइभेटले ११ महिनामा नै एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/०८२ को जेठ मसान्तसम्ममा एक अर्ब १९ करोड ७० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी एक अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको थियो । यसअघि आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब १८ करोड ४० लाख रुपैयाँ बराबर रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७९/८० मा एक अर्ब १० करोड २० लाख रुपैयाँमा झरे पनि त्यसपछि पुनः सुधार हुँदै आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब १८ करोड ९० लाख रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षको ११ महिनामा कम्पनीको कुल आम्दानीमध्ये करिब ३९ प्रतिशत दुई पाङ्ग्रे सवारीका टायरबाट, करिब ३२ प्रतिशत मालवाहक तथा यात्रुवाहक ठूला व्यावसायिक सवारीका टायरबाट, करिब २३ प्रतिशत निजी प्रयोगका सवारी साधनका टायरबाट तथा बाँकी करिब ६ प्रतिशत ट्युबको बिक्रीबाट आएको हो ।

कम्पनीको सञ्चालन नाफाको अवस्था पनि उल्लेखनीय रूपमा स्थिर देखिएको छ । सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफा आर्थिक वर्ष २०७८/७९ मा ७ प्रतिशत, २०७९/८० मा ६ दशमलव ८ प्रतिशत, २०८०/८१ मा ७ दशमलव १ प्रतिशत र २०८१/८२ मा ५ दशमलव ६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पहिलो ११ महिनामा यो अनुपात ५ दशमलव ८ प्रतिशत पुगेको हो ।

सन् २०१२ मा स्थापना भएको एसटीसी अटोले नेपालमा सिएट ब्रान्डका टायरको आधिकारिक वितरकका रूपमा एक दशकभन्दा बढी समयदेखि आफ्नो उपस्थितिलाई निरन्तर मजबुत बनाउँदै आएको छ । विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका लागि सिएट टायरको नेपालभरको एकमात्र आधिकारिक वितरकको जिम्मेवारी निर्वाह गरिरहेको कम्पनीले गुणस्तरीय उत्पादन, प्रभावकारी वितरण प्रणाली तथा ग्राहककेन्द्रित सेवामार्फत बजारमा विश्वासिलो पहिचान स्थापित गरेको छ ।

कम्पनीको पूँजी संरचनाले पनि व्यवसाय विस्तारका लागि ऋणको सन्तुलित उपयोग भइरहेको छ । कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०७८÷७९ मा २ दशमलव १ गुणा, २०७९/८० मा २ दशमलव २ गुणा, २०८०/८१ मा १ दशमलव ७ गुणा, २०८१/८२ मा १ दशमलव ९ गुणा तथा गत आर्थिक वर्षको पहिलो एघार महिनामा २ दशमलव १ गुणा रहेको छ ।

सञ्चालन नाफाको तुलनामा कुल ऋणको अनुपात आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ८ गुणा, २०७९/८० मा ६ गुणा, २०८०/८१ मा ४ दशमलव ३ गुणा, २०८१/८२ मा ५ दशमलव ६ गुणा तथा गत आर्थिक वर्षको पहिलो ११ महिनामा ६ दशमलव ५ गुणा रहेको छ ।

ब्याज भुक्तानी क्षमता पनि क्रमशः सुधारोन्मुख देखिएको छ । ब्याज धान्ने क्षमता आर्थिक वर्ष २०७८/७९ मा १ दशमलव ८ गुणा, २०७९/८० मा १ दशमलव २ गुणा, २०८०/८१ मा १ दशमलव ४ गुणा, २०८१/८२ मा १ दशमलव ८ गुणा र गत आर्थिक वर्षको ११ महिनामा २ गुणासम्म पुगेको छ ।

कम्पनीले हाल देशका तीनवटा शाखा कार्यालय र नेपालभर फैलिएको २५०भन्दा बढी आधिकारिक विक्रेतामार्फत आफ्ना उत्पादन ग्राहकसम्म पु-याउँदै आएको छ । यस प्रकारको व्यापक वितरण सञ्जालका कारण कम्पनीले देशका विभिन्न भौगोलिक क्षेत्रमा सहज रूपमा आफ्ना टायर उपलब्ध गराउन सफल भएको छ । कम्पनीले आफ्नो बजारलाई भौगोलिक आधारमा मुख्य रूपमा केन्द्रीय क्षेत्र र पश्चिमी क्षेत्र गरी विभाजन गरेर सञ्चालन गरेको छ । यीमध्ये राजधानी काठमाडौं समावेश रहेको केन्द्रीय क्षेत्र कम्पनीका लागि सबैभन्दा ठूलो बजार हो ।

कम्पनीको स्वामित्व दुई जना व्यक्तिगत प्रवद्र्धकबीच बराबरी रूपमा बाँडिएको छ । कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र के. उप्रेती र अध्यक्ष भोलेश्वर दुलालको समान लगानी रहेको हो । गत आर्थिक वर्षको ११ महिनामा कम्पनीको कुल आम्दानीमध्ये करिब ६४ प्रतिशत आम्दानी यही केन्द्रीय क्षेत्रबाट प्राप्त भएको हो । यसले राजधानी तथा आसपासका क्षेत्रमा कम्पनीको बजार हिस्सा, ग्राहकको पहुँच र ब्रान्डको प्रभाव निकै बलियो रहेको देखिन्छ । साथै, देशभर फैलिएको बिक्री सञ्जाल र व्यवस्थित क्षेत्रीय व्यवस्थापनले कम्पनीलाई बजार विस्तार, ग्राहक सेवा सुधार तथा भविष्यमा अझ बढी व्यापार वृद्धि गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ ।

एसटीसी अटोको दीर्घकालीन ऋण मूल्याङ्कन एलबी प्लस र अल्पकालीन ऋण मूल्याङ्कन ए–४ यथावत् कायम गरिएको छ। मूल्याङ्कन संस्था इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण सीमा ३४ करोड रुपैयाँबाट घटेर ३० करोड ७० लाख रुपैयाँ कायम भए पनि मूल्याङ्कन परिवर्तन गरिएको छैन।

त्यस्तै, अल्पकालीन ऋण सीमा ५३ करोड रुपैयाँबाट बढेर ५४ करोड ३० लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल मूल्याङ्कन गरिएको ऋण सीमा ८७ करोड रुपैयाँबाट घटेर ८५ करोड रुपैयाँ कायम भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*