विद्युत् लाइन छोएर दुवै हात गुमाएका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

७ श्रावण २०८३, बिहीबार ११:५७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका एक बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति तथा कुरुवा खर्चसमेत समेटेर उक्त रकम स्वीकृत गरेको हो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका–२ घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि गम्भीर दुर्घटना भएको थियो। दुर्घटनामा बालकका दुवै हात गुमेका थिए।

नेपाल विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपविनियम (१) बमोजिम औषधोपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउँदै आएको जनाएको छ। विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गर्ने व्यवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*