शेयर बजारमा उत्साहः फर्किरहेको छ लगानीकर्ताको लगानी, बुल आउने के छ आधार ?

७ श्रावण २०८३, बिहीबार १५:०८

काठमाडौँ । हिजो सामान्य अंकले करेक्सन भएको सेयर बजार आज भने पुनः सुधारतर्फ फर्किएको छ । अघिल्लो कारोबार दिनको स्वाभाविक करेक्सनपछि बजारमा सकारात्मक माहोल देखिएको हो । पछिल्लो समय नयाँ लगानीकर्ताको बजार प्रवेश बढ्दै जाँदा कारोबारमा समेत उत्साह देखिन थालेको छ ।

पछिल्ला केही सातायता सेयर बजारमा दैनिक कारोबार रकम निरन्तर बढ्दै गएको छ भने नयाँ लगानीकर्ताको संख्या पनि विस्तार हुँदै गएको देखिन्छ । लगानीकर्ताको आत्मविश्वास बढाउन पछिल्लो राजनीतिक तथा नीतिगत वातावरणले समेत सहयोग गरेको विश्लेषण गरिएको छ । विशेषगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पूँजी बजारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग छलफल र भेटवार्ता गर्दै सकारात्मक सन्देश प्रवाह गरिरहेका कारण बजारप्रतिको धारणा क्रमशः सकारात्मक बन्दै गएको बताइन्छ ।

बजार सुधारको अर्को महत्वपूर्ण आधार नेपाल धितोपत्र बोर्डको पछिल्लो सक्रियतालाई पनि मानिएको छ । लामो समयसम्मको बजार गिरावटपछि आन्दोलनरत लगानीकर्तासँग छलफल गरेको बोर्डले बजार सुधारका लागि स्पष्ट कार्ययोजना अघि सारेको थियो । बोर्ड अध्यक्ष डा। गोपालप्रसाद भट्टले नियामकीय सुधार, बजार विस्तार, लगानीकर्ता संरक्षण, पारदर्शिता अभिवृद्धि तथा नयाँ वित्तीय उपकरणको विकासलाई प्राथमिकतामा राख्दै चरणबद्ध सुधार प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै, सरकार, नियामक निकाय तथा मौद्रिक नीतिसँग सम्बन्धित पक्षबाट पछिल्ला दिनमा आएका सकारात्मक संकेतहरूले लगानीकर्ताको मनोविज्ञानमा समेत सकारात्मक प्रभाव पारेको देखिएको छ । नीतिगत स्थिरता, बजार विस्तार, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माणसम्बन्धी प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा अहिले देखिएको सुधारले आगामी दिनमा अझ बलियो आधार पाउने अपेक्षा गरिएको छ । सामान्य करेक्सनलाई आत्मसात गर्दै बजारले पुनः सकारात्मक लय समात्ने विश्वास लगानीकर्तामाझ बढ्दै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१७ अकंले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ६१ लाख रुपैलयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा सुधार देखिएको छ भने २ समूहको शेयर मूल्य घटेको हो ।

आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*