एक वर्षमा ४८ अर्बका स्मार्टफोन नेपाल भित्रिए

७ श्रावण २०८३, बिहीबार १८:४१

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात निरन्तर उच्च दरमा कायम रहँदा गत आर्थिक वर्षमा मात्रै चीन र भारतबाट करिब २२ लाख ५४ हजार थान स्मार्टफोन भित्रिएका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार यी दुई देशबाट आयात भएका स्मार्टफोनको कुल भन्सार मूल्य करिब ४८ अर्ब रुपैयाँ पुगेको छ।

तथ्याङ्कअनुसार चीन नेपालका लागि स्मार्टफोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ। गत आर्थिक वर्षमा चीनबाट १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएका छन्। यी उपकरणको भन्सार मूल्य ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबर रहेको छ। आयात संख्या र मूल्य दुवैका आधारमा चीन पहिलो स्थानमा रहेको देखिन्छ।

स्मार्टफोन आपूर्तिमा भारत दोस्रो स्थानमा छ। भारतबाट ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। ती मोबाइलको कुल भन्सार मूल्य १० अर्ब ९९ करोड ६ लाख ८४ हजार रुपैयाँ पुगेको विभागको अभिलेखमा उल्लेख छ।

चीन र भारतबाहेक अन्य विभिन्न मुलुकबाट पनि स्मार्टफोन नेपाल भित्रिएका छन्। संयुक्त राज्य अमेरिकाबाट १ हजार ७८९ थान, संयुक्त अरब इमिरेट्सबाट १ हजार ३९४ थान, कतारबाट १ हजार ८३४ थान, जापानबाट १ हजार ५२० थान तथा अष्ट्रेलियाबाट २ हजार ७६६ थान स्मार्टफोन आयात भएका छन्। संख्यात्मक रूपमा यी आयात कम देखिए पनि उच्च मूल्यका प्रिमियम स्मार्टफोन, विशेषगरी आइफोनजस्ता उपकरण आयात हुने भएकाले विदेशी मुद्रा बाहिरिने परिमाण उल्लेख्य रहने व्यवसायीहरू बताउँछन्। हङकङ, जर्मनी, क्यानडा, भियतनाम र बेलायतबाट पनि विभिन्न ब्रान्डका स्मार्टफोन नेपाल भित्रिएका छन्।

स्मार्टफोनसँगै अन्य प्रकारका मोबाइल उपकरणको आयात पनि उल्लेख्य छ। ‘अदर टेलिफोन’ शीर्षकअन्तर्गत चीनबाट ९ लाख ६५ हजार १५४ थान तथा भारतबाट ४ लाख ३२० थान फोन आयात भएका छन्। यीमध्ये अधिकांश फिचर फोन रहेको अनुमान गरिएको छ। सबै प्रकारका मोबाइल उपकरण जोड्दा एक आर्थिक वर्षमा नेपालमा करिब ३६ लाखभन्दा बढी मोबाइल सेट आयात भएको देखिन्छ।

मोबाइल उपकरणको उच्च आयातसँगै सरकारको राजस्व संकलन पनि उल्लेख्य रहेको छ। चीनबाट आयात भएका स्मार्टफोनबाट मात्रै ६ अर्ब ८६ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। भारतबाट आयात भएका स्मार्टफोनबाट थप २ अर्ब ४ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ। अन्य मुलुकबाट आयात भएका स्मार्टफोन र फिचर फोनसमेत जोड्दा मोबाइल क्षेत्रबाट मात्रै करिब १० अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारी कोषमा जम्मा भएको तथ्याङ्कले देखाएको छ।

भन्सार अभिलेखमा नेपालले विविध देशसँग मोबाइल व्यापार गरिरहेको तथ्य पनि देखिएको छ। अफगानिस्तान, अर्जेन्टिना, बहराइन, भुटान, बुल्गेरिया र कम्बोडियालगायत मुलुकबाट सीमित संख्यामा मोबाइल उपकरण नेपाल भित्रिएका छन्। कम्बोडियाबाट १ हजार ५०६ थान तथा मलेसियाबाट ९५ थान स्मार्टफोन आयात भएको विवरणले वैदेशिक रोजगारीमा रहेका नेपाली वा साना परिमाणका व्यापारिक कारोबारको प्रभाव पनि देखाउने विश्लेषण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*