मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड: अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ?

८ श्रावण २०८३, शुक्रबार १०:३६

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ९५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले वृद्धि भएर ३० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २० करोड ४५ लाख ९४ हजार रुपैयाँ थियो ।

यस अवधिमा बैंकले ३ करोड ७२ लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ३५ करोड ९ लाख ४७ हजार रुपैयाँ र सञ्चालन नाफा २० करोड १७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष क्रमशः ३ करोड ३२ लाख ११ हजार रुपैयाँ, ३१ करोड १ लाख ६८ हजार रुपैयाँ र १८ करोड ५७ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.७३ प्रतिशत रहेको छ । १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

वित्तीय सूचकअनुसार बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ । मूल्य–आम्दानी अनुपात ५०.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा कायम भएको छ ।

गत असार मसान्तसम्म बैंकको निक्षेप ३६ प्रतिशतले बढेर ८ अर्ब ८५ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह २९.२५ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जा अनुपात पनि घटाएको छ । अघिल्लो वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा ०.२६ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*