बाजुरामा अविरल वर्षाका कारण पहिरो, १३ घरधुरी जोखिममा

काठमाडौं । बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडमा अविरल वर्षाका कारण पहिरो खसेपछि १३ घरधुरी जोखिममा परेका छन् भने तीमध्ये ३ घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।
शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर–सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।
प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् । जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ ।
पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ । प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।











