सत्याग्रही प्रा. डा. गोविन्द केसी अनसनमा, के–के छन् माग ?

८ श्रावण २०८३, शुक्रबार १४:०७

काठमाडौं । मेडिकल क्षेत्रको सुधारका निम्ति आवाज उठाउँदै पटकपटक आमरण अनसन बसेका प्रा.डा गोविन्द केसी धनगढी पुगेर पुन अनसन बसेका छन् । उनले धनगढीमा पुगेर आफ्नो २४औं अनसन बिहीबारदेखि शुरू गरेका हुन्। डा. केसीले सरकारले आफ्ना मागहरूमा ध्यान नदिएको भन्दै अनसन शुरू गरेका हुन्।

यसपटक भने गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा राजनीति नियुक्ति गरिएको र निजी स्वार्थ समूहको चलखेल भएको भन्दै अनसनमा बसेका हुन् । केसीले पाँचबुँधे माग अघि सार्दै अनसनमा बसेका हुन्। उनले स्थापित नियम र मूल्यमान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानूनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गर्न माग गरेका छन् ।

त्यसैगरी चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्न पनि माग राखेका छन् ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न र सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गर्न पनि माग गरेका छन् ।

अन्त्यमा उनले २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गर्न तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेका छन् ।

उनले यी मागहरूप्रति २०८३ साउन ५ गतेसम्म सम्बोधन गर्न दिइएको समयसीमालाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको र जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको संवेदनहीनता देखाएको भन्दै साउन ७ गतेबाट सत्याग्रह शुरु गरेका हुन् । उनले यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुने पनि बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*