बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।
बंगलादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले शेख हसिनालाई सत्ताच्यूत गरेपछि भागेर भारतमा शरण लिएर बसिरहेकी छन् । हसिनाले पछिल्लो समय भारतबाट स्वदेश फर्कने घोषणा समेत गरेपछि राष्ट्रपतिले राजीनामा दिएका हुन् ।
शाहबुद्दिन हसिनाका पूर्वसहयोगी समेत हुन् । उनी सन् २०२३ मा मात्रै बंगलादेशको राष्ट्रपति बनेका थिए । शाहबुद्दिनले संसदका सभामुखलाई राजीनामा पत्र दिएको बताइएको छ । उपचारका लागि थाइल्याण्ड गएका सभामुख राजीनामा बुझ्नका लागि भ्रमण छोट्याएर आजै बंगलादेश फर्किएका थिए ।
बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा कम्तीमा १ हजार ४०० जनाले ज्यान गुमाएका छन् भने आन्दोलनकारी विरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको अभियोगमा हसिनालाई दोषी ठहर गर्दै बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाएको थियो ।
शेख हसिनाको सरकार ढलेपछि उनको प्रशासनका उच्च तहका कर्मचारीहरूलाई पनि पदबाट हटाइए पनि राष्ट्रपति भने बाँकी नै थिए । राष्ट्रपतिको कार्यकाल सन् २०२८ सम्म रहेको थियो तर सत्तारूढ पार्टीको दबाबका कारण उनले राजीनामा दिएको बताइएको छ ।











