आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा लागू गराउन सरकारको पहल

काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा फिर्ता नलिने स्पष्ट पारेको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा तत्कालका लागि केहीलाई असहज र अलोकप्रिय लागे पनि यसको सकारात्मक प्रभाव दीर्घकालमा देखिने भएकाले निर्णयबाट सरकार पछि नहट्ने बताएका हुन्।
उनले आइतबारको बिदाबारे विभिन्न असन्तुष्टि आएको जानकारी आफूलाई भए पनि त्यसको पूर्वानुमान गर्दागर्दै सरकारले निर्णय गरेको बताए।
मन्त्री पोखरेलका अनुसार अन्तर्राष्ट्रिय अभ्यासले साप्ताहिक दुई दिनको बिदाले कार्यसम्पादनमा सुधार ल्याएको देखिएकाले नेपालमा पनि सोही अभ्यास लागू गर्न खोजिएको हो।
उनले आइतबारको बिदाले प्रारम्भिक चरणमा केही अप्ठेरो र असहज महसुस गराए पनि दीर्घकालमा यसले सकारात्मक परिणाम दिने दाबी गरे। मानसिक स्वास्थ्यका दृष्टिले पनि साप्ताहिक अतिरिक्त बिदा आवश्यक रहेको र यसले कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउने अन्तर्राष्ट्रिय अनुभवले देखाएको उनको भनाइ छ।
मन्त्री पोखरेलले हाल सरकारी निकाय, बैंक तथा वित्तीय संस्था तथा केही कर्पोरेट क्षेत्रमा आइतबारको बिदा कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै निजी क्षेत्रमा समेत यो व्यवस्था लागू गर्न सरकार पहल गर्ने बताए।
बालबालिकाको विद्यालय सञ्चालनसँग सम्बन्धित चिन्ताबारे प्रतिक्रिया दिँदै उनले आइतबार बालबालिकालाई विद्यालय नपठाउने नभई अभिभावकलाई बिदा दिने व्यवस्था गरिएको बताए। यसका लागि निजी क्षेत्रसँग सरकारले अनुरोध र सहकार्य गर्ने उनले जानकारी दिए।











