मर्जर प्रस्ताव सहित सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारणसभा

१० श्रावण २०८३, आईतवार १०:४९

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा साउन ३० गते शनिबार पोखरा दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रा. लि को सभा हलमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्ने, परार्मशदाता, मुल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरूको शाखाहरू खरीद तथा प्राप्ती गर्ने लगायतका कार्यहरूसँग सम्बन्धित आवश्यक कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

त्यसैगरी नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायहरुबाट स्वीकृत लिने, अभिलेख गर्ने, प्रबन्धपत्र नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

त्यस्तै  सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आव २०८२/८३ को वाह्य लेखापरीक्षण कार्य गर्नका लागि संस्थाको लेखापरीक्षण समितिवाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा भएको सञ्चालक समिति र अन्य उप–समितिको बैठक भत्ता तथा समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्ने र संचालक समितिको सदस्यको नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ । साधारणसभा प्रयोजनार्थ साउन १९ गते संस्थाको शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गर्ने भएकाले नेप्सेमा साउन १८ गतेसम्म कारोबार भई कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*