९ महिनामा नै होङ्शी शिवम् सिमेन्टको व्यापार १० अर्ब ३१ करोड, ऋण घट्दा वित्तीय अवस्था थप सुदृढ

काठमाडौँ । होङ्शी शिवम् सिमेन्टले ९ महिनामा नै झण्डै साढे १० अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको कुल सञ्चालन आम्दानी गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ९६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो। कम्पनीको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर सुधारको क्रममा रहेको वित्तीय विवरणले देखाएको छ।
कम्पनीको वित्तीय अवस्था पनि क्रमशः सुदृढ बन्दै गएको देखिएको छ। गत आर्थिक वर्षको नौ महिनामा सञ्चालन नाफा मार्जिन सञ्चालन आम्दानीको ३१ प्रतिशत पुगेको छ। यो अघिल्लो आर्थिक वर्षमा २९ दशमलव १ प्रतिशत, आर्थिक वर्ष २०८०/८१ मा १८ दशमलव ८ प्रतिशत र त्यसअघिका वर्षहरूमा क्रमशः ९ दशमलव ५ प्रतिशत तथा १५ दशमलव ८ प्रतिशत रहेको थियो।
त्यसैगरी, कम्पनीको कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात घटेर ० दशमलव १५ गुणामा झरेको छ जुन अघिल्लो आर्थिक वर्षमा ० दशमलव १७ गुणा थियो। कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात पनि ० दशमलव ४१ गुणामा सीमित भएको छ।
कुल ऋण र सञ्चालन नाफाको अनुपात ० दशमलव ६८ गुणामा झरेको छ भने ब्याज तिर्न सक्ने क्षमता २२ दशमलव १५ गुणा पुगेको छ। ऋण भुक्तानी क्षमता सूचक १८ दशमलव ७० गुणा पुगेको कम्पनीको विवरणमा उल्लेख छ।
होङ्शी शिवम् सिमेन्टको सबैभन्दा ठूलो बलियो पक्ष भने यसको सञ्चालन क्षमता हो। कम्पनी नेपालकै सबैभन्दा ठूलो एकीकृत नयाँ सिमेन्ट उद्योगका रूपमा स्थापित भइसकेको छ। उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता करिब २० लाख मेट्रिक टन रहेको छ भने सिमेन्ट पिसाइ क्षमता करिब २३ लाख मेट्रिक टन पुगेको छ।
सन् २०१५ को सेप्टेम्बरमा स्थापना भएको होङ्शी शिवम् सिमेन्टले नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा अत्याधुनिक एकीकृत सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले ‘होङ्शी’ ब्रान्डमार्फत साधारण पोर्टल्यान्ड सिमेन्ट तथा पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ। आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणाली तथा ठूलो उत्पादन क्षमताका कारण कम्पनीले छोटो समयमै नेपाली सिमेन्ट बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
कम्पनीको अर्को प्रमुख बलियो पक्ष यसको प्रवर्द्धक संरचना र अनुभवी व्यवस्थापन हो। कम्पनीको ७० प्रतिशत स्वामित्व चीनको होङ्शी समूहसँग रहेको छ, जुन हङकङ रेड लायन सिमेन्ट नम्बर–३ लिमिटेडमार्फत कायम गरिएको हो। होङ्शी समूहले चीनमा करिब ५० वटा ठूला सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ। यसका साथै लाओस, इन्डोनेसिया र म्यानमारमा पनि समूहले आफ्नो व्यवसाय विस्तार गरिसकेको छ। सिमेन्ट उद्योगमा समूहको लामो अनुभव, सफल कार्यसम्पादन, आधुनिक प्रविधिको प्रयोग तथा अनुभवी व्यवस्थापन टोलीका कारण होङ्शी शिवम् सिमेन्टले समूहका अन्य उद्योगमा लागू गरिएका उत्कृष्ट प्रविधि, व्यवस्थापन प्रणाली तथा नीतिगत अभ्यासहरू अपनाउन सकेको छ। यसले कम्पनीको उत्पादन क्षमता, गुणस्तर तथा सञ्चालन दक्षता अझ सुदृढ बनाउन सहयोग पुर्याएको छ।
कम्पनीको बाँकी ३० प्रतिशत स्वामित्व नेपालको शिवम् होल्डिङ्स लिमिटेडसँग रहेको छ। शिवम् होल्डिङ्स लिमिटेड शिवम् सिमेन्ट लिमिटेडको करिब ८५ प्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो। उद्योग नवलपरासी जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको छ।
इक्रा नेपालले होङ्शी शिवम् सिमेन्टको ६ अर्ब रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको साख मूल्याङ्कन पुनः यथावत् राखेको छ। संस्थाले कम्पनीको अल्पकालीन कर्जा सीमालाई ‘ए–टु प्लस’ श्रेणीमा पुनः पुष्टि गरेको हो।











