हरियालीको लय समात्दै पुँजी बजार, पुग्ला त रेकर्ड तिर ?

काठमाडौँ । साताभरको कारोबारपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सकारात्मक लयमा देखिएको छ। अघिल्लो साताको तुलनामा परिसूचक दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै अन्तिम कारोबार दिन २७३४.६० विन्दुमा पुगेको हो। यसअघि बजार २६७७.५४ विन्दुमा बन्द भएको थियो। साताभरमा नेप्सेमा ५७.०६ अंकको सुधार आएको देखिन्छ।
यो साता पाँच दिन नै नियमित कारोबार सञ्चालन भएको थियो। तीमध्ये चार दिन बजार हरियो रह्यो भने एक दिन मात्र सामान्य गिरावट देखिएको थियो। समग्र साप्ताहिक प्रदर्शन भने सकारात्मक रह्यो। मुख्य परिसूचकसँगै अन्य सूचकहरूमा पनि सुधार देखिएको छ। सेन्सेटिभ इन्डेक्स ५.०९ अंकले बढ्दा फ्लोट इन्डेक्स ३.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंकले माथि उक्लिएका छन्।
परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकम भने केही खुम्चिएको छ। अघिल्लो साताको दैनिक औसत कारोबार ५ अर्ब ८३ करोड रुपैयाँ रहेकोमा यस साता औसत कारोबार ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा दैनिक कारोबार हुने सेयर संख्यामा २९.४० प्रतिशतको कमी आएको छ भने कारोबार संख्या भने ३४.९७ प्रतिशतले बढेको छ।
बजारको आकार मापन गर्ने कुल बजार पूँजीकरण पनि विस्तार भएको छ। अघिल्लो साताको अन्त्यमा करिब ४६ खर्ब रुपैयाँ रहेको बजार पूँजीकरण बढेर ४६ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् एक सातामै करिब ९९ अर्ब रुपैयाँ बराबरको वृद्धि भएको हो।
उपसमूहतर्फ अधिकांश क्षेत्र सकारात्मक देखिएका छन्। १३ मध्ये ११ उपसमूहले प्रगति गर्दा दुई उपसमूह भने घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बलियो प्रदर्शन गर्ने क्षेत्रमा रह्यो। यस उपसमूहको परिसूचक ४.११ प्रतिशतले उकालो लाग्दै १० हजार ६१२.८६ विन्दुबाट ११ हजार ४९.१८ विन्दुमा पुगेको छ। अंकगत हिसाबले पनि यही समूहले सबैभन्दा ठूलो वृद्धि दर्ता गरेको छ।
व्यापार समूहमा भने वृद्धि सबैभन्दा सीमित रह्यो। यसको परिसूचक ०.४३ प्रतिशतले मात्र बढ्दै ४६९५.६३ विन्दुबाट ४७१५.९६ विन्दुमा पुगेको छ। अंकका आधारमा सबैभन्दा कम सुधार भने लगानी समूहमा देखिएको छ, जहाँ परिसूचक १.४० अंकले मात्रै बढेको छ।
यस साताको कमजोर प्रदर्शन म्युचुअल फण्ड समूहमा देखिएको छ। उक्त उपसमूहको परिसूचक २.३५ प्रतिशतले घटेको हो। अंकगत रूपमा भने निर्जीवन बीमा समूहले सबैभन्दा ठूलो गिरावट व्यहोरेको छ।
पुँजी बजारप्रति सकारात्मक वातावरण निर्माण गर्न पछिल्ला दिनमा देखिएका राजनीतिक तथा नीतिगत गतिविधिलाई पनि बजार सुधारको प्रमुख आधारका रूपमा हेरिएको छ। विशेषगरी बालेन्द्र शाहले पूँजी बजारको विकास र विस्तारका विषयलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर छलफल तथा भेटवार्ता गरेपछि लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको बताइन्छ। बजार सुधारका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको सन्देशले लगानीकर्ताको मनोबल बढाएको विश्लेषकहरूको भनाइ छ।
यसैगरी नेपाल धितोपत्र बोर्डको सक्रियताले पनि बजारप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। लामो समयदेखि आन्दोलनरत लगानीकर्तासँग छलफल गरेको बोर्डले बजार सुधारका लागि स्पष्ट कार्ययोजना अघि सारेको थियो। बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले नियामकीय सुधार, लगानीकर्ता संरक्षण, पारदर्शिता अभिवृद्धि, बजार विस्तार तथा नयाँ वित्तीय उपकरणको विकासलाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा सुधार प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्। यसले बजारमा दीर्घकालीन स्थायित्व र संस्थागत विकासप्रति आशा बढाएको छ।











