सीमामा अवैध गतिविधिविरुद्ध निर्मम बन्न आईजीपीको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा अपराध न्यूनीकरण र राजस्व चुहावट रोक्न प्रभावकारी रूपमा परिचालन हुन मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको अवलोकनपछि उनले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नतिजामुखी ढंगले काम गर्न आग्रह गरे।
महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच, फरक कार्यशैली तथा पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्नुपर्नेमा जोड दिँदै असल मनसायका साथ गरिएको कामकारबाहीमा देखिएका कमी–कमजोरीको जिम्मेवारी संगठनले लिने बताए।
उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि कुनै पनि आर्थिक प्रलोभनमा नपरी कडाइका साथ काम गर्न निर्देशन दिए।











