धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु

काठमाडौँ । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
घटनापछि आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर आफन्तले उनलाई उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ।
आफन्तले सोमबार बिहान करिब ७ बजे घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन्। हाल चौधरीको शव सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











