हिमालयन लघुवित्तले माग्यो ३३ जना कर्मचारी, एसईई उत्तीर्णलाई समेत अवसर

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ जना कनिष्ठ सहायक (फिल्ड सहायक) पदमा कर्मचारी माग गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त तथा हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी रहेको संस्थाले प्रकाशित सूचनाअनुसार प्रशिक्षार्थी सेवामा कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो ।
उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता माध्यमिक शिक्षा परीक्षा (एसईई) वा सोसरह उत्तीर्ण हुनुपर्ने उल्लेख गरिएको छ । छनोट प्रक्रिया अन्तर्गत प्रस्तुतीकरण र अन्तर्वार्ता लिइनेछ ।
मोटरसाइकल चलाउने अनुमतिपत्र प्राप्त गरी आफ्नै सवारी साधन भएका उम्मेदवारलाई विशेष ग्राह्यता दिइने संस्थाले जनाएको छ । त्यसैगरी कम्प्युटर सञ्चालन, नेपाली टाइपिङ, इमेल र इन्टरनेटसम्बन्धी ज्ञान भएका तथा काठमाडौँ उपत्यकाबाहिरका दुर्गम र ग्रामीण क्षेत्रमा रही काम गर्न इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ ।
दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । महिला उम्मेदवारका हकमा माथिल्लो उमेर हदमा पाँच वर्षको थप छुट दिइएको छ । तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार उपलब्ध गराइने जनाइएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको अनलाइन आवेदन प्रणाली, नजिकको शाखा कार्यालय वा चाबहिलस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।











