सुनसरी तनावग्रस्त: कर्फ्यु उल्लङ्घनपछि आगजनी र तोडफोड, सेना परिचालन

११ श्रावण २०८३, सोमबार १३:३०

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा तथा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको मृत्यु हुनुका साथै नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

कर्फ्यु जारी रहेकै अवस्थामा सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेपछि उनीहरूले कप्तानगन्ज क्षेत्रमा रहेका पाँचवटा पसलमा तोडफोड गरी आगजनी गरेका छन्। प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध भएको छ।

सुरक्षा अवस्था थप जटिल बनेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*