अनधिकृत पैठारी, भण्डारण र बिक्री–वितरण नगर्न विभागको चेतावनी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत केही वस्तुको आयात तथा निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको स्मरण गराएको हो। विभागका अनुसार वि.सं. २०७६ असार २ र २०७६ चैत २४ लगायत विभिन्न मितिमा प्रकाशित राजपत्र सूचनामार्फत यस्ता वस्तुको पैठारीमा शर्तसहित, निश्चित अवधिका लागि वा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
विभागले प्रतिबन्धित वस्तुहरू बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्लेटफर्म तथा अनलाइन माध्यमबाट समेत खुलेआम बिक्री वितरण भइरहेको भन्ने गुनासा र उजुरी प्राप्त भएको जनाएको छ। यस्तो गतिविधिप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई कानुनले तोकेका दायित्व र बन्देजको पालना गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। कानुनविपरीत प्रतिबन्धित वस्तुको पैठारी, भण्डारण वा बिक्री वितरण गरेको पाइएमा निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।











