डाक्टरको सुरक्षा माग गर्दै माइतीघरमा प्रदर्शन

११ श्रावण २०८३, सोमबार १६:२६

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग सहित चिकित्सकहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

गत शनिबार बेलुका करिब ४०–५० जनाको समूहले डा. प्रमोद राममाथि मरणासन्न हुनेगरी आक्रमण गरिएको थियो । सो घटनाको हिजो नेपाल चिकित्सक संघले कडा शब्र्दमा घटनाको भत्र्सना समेत गरेको छ ।

स्वास्थ्यकर्मीहरुले सेतो पोशाकसहित माइतीघरमा उभिएर सरकारसँग डाक्टरको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन् । साथै सबै आक्रमणकारीलाई कानुनी कारवाहीको माग गरेका छन् । सरकार समर्थित केही अराजक समुहले अस्पताल तोडफोड र चिकित्सकमाथि आक्रमण गरेका थिए । अहिले पर्सा प्रहरीले आक्रमणकारीहरुलाई पक्राउ गर्न मानिरहेको छैन ।

आन्दोलनरत चिकित्सकहरुले गृहमन्त्री सुदन गुरुङको समेत ध्यानाकर्षण गराउँदै अपराधीलाई राजनीतिक आडमा संरक्षण नदिन माग गरेका छन् ।

शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामीका आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरिएको र सोही क्रममा डा. राममाथि सांघातिक आक्रमण गरिएको थियो ।

नेपाल चिकित्सक संघले पनि घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ । संघद्वारा हिजो जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

अस्पतालमा रहेको सिसी टिभी फुटेजमा सबै आक्रमणकारीहरु प्रष्ट चिनिने अवस्थामा रहेको पनि सरकारले भने आनाकानी गरिरहेको बिषय शंकास्पद छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*