रश्मि रिजाल मृत्यु प्रकरण: फियनले माग्यो निष्पक्ष छानबिन, कार्यदबाबबारे गम्भीर चिन्ता व्यक्त

११ श्रावण २०८३, सोमबार १८:२३

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले सानिमा क्यापिटल लिमिटेडमा कार्यरत कम्प्लायन्स अफिसर रश्मि रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेको छ।

संघले सोमबार ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै रिजालको मृत्युले वित्तीय क्षेत्रका कर्मचारीलाई गम्भीर रूपमा स्तब्ध बनाएको जनाएको छ। विज्ञप्तिमार्फत दिवंगत रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

संघका अनुसार घटनाबारे सार्वजनिक भएका विवरणका आधारमा विभिन्न प्रश्न उठिरहेका भए पनि वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार तथा सम्बन्धित पक्षको भूमिकाबारे सत्यतथ्य सार्वजनिक हुन बाँकी रहेकाले अनुमानका आधारमा निष्कर्ष निकाल्नु उचित हुँदैन। तर परिवारले उठाएका प्रश्न, कम्पनी व्यवस्थापनको भूमिकाबारे देखिएका जिज्ञासा तथा अनुसन्धान प्रक्रियाप्रति बढ्दो सार्वजनिक चासोले घटनालाई थप गम्भीर बनाएको संघको भनाइ छ।

संघले रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र, वैज्ञानिक तथा प्रमाणमा आधारित छानबिन गरी सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ। अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थागत तहबाट मानसिक उत्पीडन, दुर्व्यवहार, लापरबाही वा कानुनविपरीत कार्य भएको पुष्टि भए दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने पनि संघले माग गरेको छ।

यसैगरी, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायत पुँजीबजार तथा वित्तीय क्षेत्रका नियामक निकायलाई कर्मचारीको कार्यदबाब, कार्यस्थलको वातावरण, मानसिक स्वास्थ्य तथा श्रम अधिकारको अवस्थाबारे विशेष अध्ययन गरी आवश्यक सुधारात्मक कदम चाल्न संघले आग्रह गरेको छ।

संघले पछिल्लो समय नेपालको पुँजीबजार तथा समग्र वित्तीय क्षेत्रमा कर्मचारीमाथि बढ्दो कार्यबोझ, अस्वाभाविक कार्यदबाब, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय तथा मानसिक स्वास्थ्यप्रतिको संस्थागत बेवास्ता गम्भीर चिन्ताको विषय बनेको जनाएको छ। यस्ता परिस्थितिले कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक जीवन, पेशागत आत्मविश्वास तथा कार्यक्षमतामा नकारात्मक असर पारिरहेको भन्दै यसलाई सामान्य रूपमा लिन नसकिने संघको भनाइ छ।

संघले कुनै पनि संस्थाको व्यावसायिक उपलब्धिभन्दा कर्मचारीको जीवन, सम्मान, मानसिक सुरक्षा र मानवअधिकार सर्वोपरि हुने उल्लेख गर्दै नेपालको संविधान, श्रम ऐन तथा सुरक्षित र मर्यादित कार्यस्थलसम्बन्धी कानुनी तथा नैतिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन प्रत्येक रोजगारदाताको दायित्व रहेको स्मरण गराएको छ।

साथै, वित्तीय क्षेत्रका नियामक निकायलाई बैंक, वित्तीय संस्था, बीमा तथा पुँजीबजार क्षेत्रमा स्वस्थ कार्यसंस्कृति, पर्याप्त जनशक्ति, व्यावहारिक कार्यसमय, सुरक्षित कार्यस्थल तथा मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी प्रभावकारी मापदण्ड लागू गर्न पहल गर्न आग्रह गरिएको छ।

त्यस्तै, वित्तीय क्षेत्रका सबै रोजगारदातालाई कर्मचारीको मानसिक स्वास्थ्य संरक्षण, कार्यस्थलमा मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्य वातावरण सुनिश्चित गर्न आवश्यक नीति तथा संयन्त्र तत्काल कार्यान्वयन गर्न संघले माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*