बागमति नदिमा खसेका नरेश रोक्काको बीर अस्पतालमा उपचार जारी

काठमाडौं । आज अपरान्ह बागमति नदिमा खसेर घाइते भएका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्वित सिईओ नरेश रोक्का खतरा मुक्त अवस्थामा बीर अस्पतालमा उपचार गराइरहेका छन् ।
थापाथलीस्थित बागमति नदि किनारामा अपरान्ह चार बजेको समयमा घाइते अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खवर गरिएको र प्रहरीको सहयोगमा तत्कालै उद्धार गरी बीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । घाइते व्यक्तिको शरीरका अंगहरुमा चोट पटक नदेखिएको बुझिएको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
उनी कसरी नदिमा खसे भन्ने विस्तृत विवरण प्राप्त हुन बाँकी छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, आजै थापाथली र त्रिपुरेश्वरको बीचमा पर्ने टुकुचामा हामफालेका एक युवकलाई उद्धार गरेर उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ।
आज साँझ सवा ६ बजे त्रिपुरेश्वरस्थित राममन्दिर नजिकैबाट टुकुचामा हामफाल्ने व्यक्ति सप्तरी घर भई हाल बबरमहल बस्दै आएका ३५ वर्षीय रोशन यादवलाई प्रहरीले उद्धार गरी बीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याएको हो ।
स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा तत्काल उद्धार गरी उनलाई राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना गरिएको छ । प्रहरीका अनुसार यादवको निधारमा सामान्य चोट लागेको छ।
-सांकेतिक तस्विर











