सुर्खेतमा यात्रुबाहक जिप दुर्घटना, चालकसहित १५ जना घाइते

काठमाडौं । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक लेकबेशी नगरपालिका–४ निवासी २३ वर्षीय दिपेश पुनसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये लेकबेशी–६ निवासी २२ वर्षीया सुष्मा कार्कीको शरीरमा भित्री चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १० जनाको सुर्खेतस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीन जनाको दशरथपुर नगर अस्पतालस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अन्य दुई जना घाइतेको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।











