चिकित्सकमाथिको आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, बिरामी मारमा

१२ श्रावण २०८३, मंगलवार १५:२०

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। सेवाबन्दीका कारण उपचारका लागि अस्पताल पुगेका हजारौं बिरामी प्रभावित भएका छन् ।

संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको थियो ।

संघका अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुव्र्यवहार गरिएको थियो । उक्त घटनाको संघले घोर भत्र्सना गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाहीको माग गरेको छ ।

संघले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग दोहोर्‍याएको छ ।

राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै संघले आज देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय कार्यान्वयन गरेको हो । यसका कारण ओपिडी, नियमित परीक्षण, फलोअप तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन् भने उपचारका लागि अस्पताल पुगेका बिरामीहरू समस्यामा परेका छन् ।

नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गर्ने जनाएको छ । साथै आन्दोलनका कारण बिरामीलाई परेको असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*