लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध, निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको भन्दै ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको विशेष छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको विकास आवश्यक रहेको बताए ।
अर्थमन्त्री वाग्लेले सरकार समस्याको सूची तयार पार्ने वा आरोप–प्रत्यारोप गर्ने परम्पराबाट अघि बढेर व्यावहारिक समाधान खोज्ने दिशामा केन्द्रित भएको बताए । बजेट निर्माणका क्रममा निजी क्षेत्र, बैंकिङ क्षेत्र, लगानीकर्ता, युवा उद्यमी तथा विभिन्न छाता संस्थासँग निरन्तर संवाद गरी प्राप्त सुझावका आधारमा ऐतिहासिक संरचनागत सुधारको सुरुआत गरिएको उनको भनाइ थियो ।
उनले अनावश्यक तथा पुराना कानुन खारेज गर्ने, लगानीको वातावरण सुधार्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, व्यवसाय गर्ने सहजता बढाउने, पुँजी बजार तथा वैकल्पिक वित्तीय साधन विस्तार गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट मार्गचित्र सरकारले अघि सारेको जानकारी दिए । यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित ४२ वटा ऐन खारेज वा संशोधनको प्रक्रियामा रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाहरूले बजेटलाई सकारात्मक रूपमा स्वागत गरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अब सरकारको साझा राष्ट्रिय एजेन्डा ‘लगानी, लगानी र केवल लगानी’ भएको बताए । प्रधानमन्त्री स्वयं निजी क्षेत्रका विषयमा गम्भीर रहेको र मुख्य आर्थिक एजेन्डामा निरन्तर अनुगमन भइरहेको उनले उल्लेख गरे ।
उनले आर्थिक रूपान्तरणका लागि सञ्चालनमा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुने, विद्यमान उद्यमीले आत्मविश्वासका साथ व्यवसाय विस्तार गर्न सक्ने तथा नयाँ पुस्ताका उद्यमी र लगानीकर्ताले नयाँ उद्योग स्थापना गर्न सक्ने वातावरण सिर्जना गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताए । यी तीन क्षेत्रमा सुधार भए आर्थिक वृद्धि, रोजगारी, राजस्व र निर्यात स्वतः विस्तार हुने उनको विश्वास थियो ।
अर्थमन्त्री वाग्लेले सरकारले उद्योग सञ्चालन गर्ने नभई उद्योग सञ्चालनका लागि आवश्यक सहज, सुरक्षित र सुशासित वातावरण तयार गर्ने भूमिका निर्वाह गर्ने स्पष्ट पारे । उत्पादन लागत किन उच्च छ, उद्योगहरू पूर्ण क्षमतामा किन सञ्चालन हुन सकेका छैनन्, नयाँ लगानी किन रोकिएको छ तथा जग्गा, विद्युत्, श्रम, ढुवानी, वित्त, कच्चा पदार्थ र बजारसँग सम्बन्धित कानुनी तथा प्रशासनिक जटिलता कहाँ छन् भन्ने विषयमा उद्योगी–व्यवसायीसँग खुला छलफल गर्न उनले आग्रह गरे ।
उनले छलफलबाट आएका सुझाव प्रतिवेदनमै सीमित नराखी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने जानकारी दिए । अब फाइल थन्किने नभई छिटो निर्णय र समाधान हुने कार्यसंस्कृति विकास गरिने उनको भनाइ थियो ।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधार, आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधार समयबद्ध रूपमा कार्यान्वयन गरिने उनले बताए । साथै पुँजीगत खर्च बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने तथा पुँजी बजार र वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने काम समानान्तर रूपमा अघि बढिरहेको जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने दिशामा अघि बढ्न उद्योग क्षेत्रको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । सरकारले निजी क्षेत्रको लगानी पूर्ण रूपमा सुरक्षित रहने, उचित प्रतिफल प्राप्त हुने तथा पुनःलगानीका लागि अनुकूल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले सुधारको गति अझ तीव्र बनाउँदै निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याउँदै आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन् ।











