आज माइतीघरमा चिकित्सकले विरोध प्रदर्शन गर्ने, देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प

१३ श्रावण २०८३, बुधबार ०६:२९

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्ने भएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा हिजोदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।

सेवा बन्द हुँदा ओपिडी, नियमित स्वास्थ्य परीक्षण, फलोअप र अन्य गैरआकस्मिक सेवा प्रभावित भएका छन् भने उपचारका लागि अस्पताल पुगेका बिरामीहरू मारमा परेका छन्।

नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विज्ञप्तिमा नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा चिकित्सकमाथि गरिएको दुर्व्यवहारको कडा भत्र्सना गरिएको छ ।

संघले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारबाही गर्न माग गरेको छ । साथै वार्ताका क्रममा चिकित्सकहरूमाथि दुव्र्यवहार भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाहीको माग गरेको छ ।

आज बिहान १० बजेदेखि माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्ने भएका हुन् । त्यस्तै काठमाडौं उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम पनि गरिने चिकित्सक संघले जनाएको छ ।

नेपाल चिकित्सक संघले आन्दोलनबाट बिरामीलाई परेको असुविधाप्रति क्षमा माग्दै यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने जनाएको छ । साथै दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन नरोक्ने पनि चेतावनी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*