राष्ट्रिय आविष्कार केन्द्रद्वारा सुशील कोइराला क्यान्सर अस्पतालका ४४ मेडिकल उपकरण मर्मत

काठमाडौं । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन रहेका ६० वटा मेडिकल उपकरणमध्ये ४४ वटा उपकरण राष्ट्रिय आविष्कार केन्द्रको टोलीले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको छ ।
अस्पताल प्रमुख डा. नीरज भट्टराईको अनुरोधपछि राष्ट्रिय आविष्कार केन्द्रको टोलीले उपकरण मर्मतको काम गरेको हो । केन्द्रका संस्थापक एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले यो काम बिरामीको जीवन बचाउने उद्देश्यसँग जोडिएको महत्त्वपूर्ण भएको बताएका छन् ।
उनका अनुसार कोरोना महामारीको समयदेखि नै राष्ट्रिय आविष्कार केन्द्रले देशका विभिन्न अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने सेवा निरन्तर प्रदान गर्दै आएको छ ।
मर्मत गरिएका उपकरणमा सिरिन्ज पम्प ८ वटा, पेसेन्ट मनिटर २ वटा, कम्पाउन्ड माइक्रोस्कोप ३ वटा, इसिजी मेसिन ४ वटा, पेसेन्ट बेड ४ वटा, इन्फ्युजन पम्प ४ वटा, भेन्टिलेटर ३ वटा, नेबुलाइजर ३ वटा, सेन्ट्रिफ्युज १ वटा, बायोसेफ्टी क्याबिनेट १ वटा रहेका छन् ।
त्यसैगरी केन्द्रले बाइप्याप मेसिन १ वटा, एक्स–रे मेसिन २ वटा, ड्राइ बाथ इन्क्युबेटर १ वटा, एन्डोस्कोपी टावर १ वटा, माइक्रोटोम १ वटा, पोर्टेबल युएसजी मेसिन १ वटा, सर्जिकल माइक्रोस्कोप १ वटा, अल्ट्रासाउन्ड मेसिन १ वटा र एक्स–रे भ्यु बक्स १ वटा उपकरण मर्मत गरेको छ ।











