सवारी दुर्घटनाको लागि छुट्टै बीमा कोष स्थापना गर्न माग

१३ श्रावण २०८३, बुधबार १४:४१

काठमाडौं । ट्रक यातायात व्यवसायी महासंघले सवारी दुर्घटनाको लागि छुट्टै बीमा कोष स्थापना गर्न माग गरेको छ। उपचार खर्च नपुग्दा अतिरिक्त रकम व्यवसायी, सवारीधनी तथा सम्बन्धित संघ–संस्थाले नै तिर्नुपर्ने भएको कारण सवारी दुर्घटनाको लागि छुट्टै बीमा कोष स्थापना गर्न माग गरेको हो ।

सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँसहितको टोलीले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चालू आवको बजेटमा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख बीमारकम र घाइतेको औषधि उपचारका लागि हालकै तीन लाखको व्यवस्था रहेको भन्दै त्यसले वास्तविक उपचार खर्च धान्न नसक्ने अवस्था रहेको जानकारी गराएको थियो ।

महासंघका अनुसार सार्वजनिक सवारी दुर्घटनामा घाइतेको उपचारमा अस्पतालको बिलमा ठुलो रकम खर्च हुने गरेको छ । बीमानिर्देशिकाले तोकेको रकमले उपचार खर्च नपुग्दा अतिरिक्त रकम व्यवसायी, सवारीधनी तथा सम्बन्धित संघ–संस्थाले जुटाउनुपर्ने बाध्यता रहेको महासंघको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले बीमाकानुनमा समावेश नभएका विषयलाई सम्बोधन गर्न राहतजन्य कार्यका लागि छुट्टै कोष स्थापना गर्ने विषयमा आफू सकारात्मक रहेको बताए । बिमाले कभर गर्न नसकेको रकम त्यस्तो कोषबाट व्यहोर्ने तथा कोष सञ्चालनमा व्यवसायी मात्रै नभई सरकारको समेत केही दायित्व रहने गरी निर्देशिका बनाएर अघि बढ्न सकिने उनको भनाइ थियो ।

महासंघले आफ्ना सदस्य संस्थाहरूले दुर्घटनाका पीडितलाई मानवीय सेवा र राहतस्वरूप अतिरिक्त उपचार खर्च तथा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भन्दै त्यस्तो रकमलाई मूल्य अभिवृद्धि करबाट छुट दिन पनि माग गरेको छ । महासंघका अनुसार संस्थाहरूले सदस्य व्यवसायीबाट संकलन गरेको रकम राहत तथा मानवीय सेवामा खर्च हुने भएकाले त्यस्तो कारोबारलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ मा समावेश गरी कर छुटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*