देवानगञ्ज घटनाका मृतकका परिवारलाई कोशी सरकारको २ लाख राहत घोषणा

१३ श्रावण २०८३, बुधबार १५:४७

काठमाडौँ । कोशी प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले प्रदेशमा सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सबै पक्ष मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

बैठकले देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई कोशी प्रदेश सरकारमार्फत दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ। त्यसैगरी आगजनीबाट क्षति पुगेका घर, पसल तथा कवलका धनी र घाइतेहरूको उपचार तथा राहतका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइने निर्णय पनि बैठकले गरेको छ।

सामाजिक सद्भाव र साम्प्रदायिक एकतालाई थप सुदृढ बनाउन राजनीतिक दल, सामाजिक संघसंस्था तथा प्रशासनबीच समन्वयात्मक रूपमा काम गर्ने सहमति बैठकले गरेको छ। यसका लागि स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

मुख्यमन्त्री कार्कीका अनुसार स्थानीय प्रशासनसँग सहकार्य गर्दै समुदायस्तरमा मेलमिलाप र सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव यात्रा, सार्वजनिक अपिल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*