नेपालमा आयो नयाँ टाटा पन्च ईभी, एक चार्जमै ४६८ किमिसम्मको रेन्ज

काठमाडौँ । नयाँ ब्याट्री, बढी रेन्ज, आधुनिक प्रविधि र सुरक्षासहित टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पुस्ताको पन्च ईभी सार्वजनिक गर्दै विद्युतीय सवारी बजारमा आफ्नो प्रतिस्पर्धालाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो।
कम्पनीका अनुसार नयाँ पन्च ईभी अघिल्लो संस्करणको तुलनामा डिजाइन, प्रविधि, कार्यक्षमता र ड्राइभिङ अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत गरिएको छ। विशेषगरी ब्याट्री क्षमता वृद्धि, आधुनिक फिचर, शक्तिशाली मोटर तथा उन्नत सुरक्षा प्रणालीका कारण यो गाडी शहरी तथा लामो दूरीका यात्रुलाई लक्षित गर्दै ल्याइएको कम्पनीको भनाइ छ।
नयाँ पन्च ईभी अब ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। यसअघि बजारमा रहेको संस्करण २५ किलोवाट आवर र ३५ किलोवाट आवर ब्याट्रीमा उपलब्ध थियो। ब्याट्री क्षमतामा गरिएको सुधारले गाडीको रेन्ज र समग्र कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ।
३० किलोवाट आवर ब्याट्री भएको संस्करणले एआरएआई प्रमाणित २८० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यद्यपि वास्तविक सडक अवस्थाको परीक्षणमा यसले करिब ३६५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। त्यस्तै ४० किलोवाट आवर ब्याट्री भएको संस्करणले एआरएआई प्रमाणित ४६८ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ भने वास्तविक प्रयोगमा ३३५ देखि ३५५ किलोमिटरसम्म सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।
भारतमा गत फागुनमा सार्वजनिक भएको यो फेसलिफ्ट संस्करण नेपालमा करिब चार महिनापछि भित्रिएको हो। कम्पनीले आगामी २६ साउनदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा नयाँ पन्च ईभीलाई औपचारिक रूपमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
कार्यसम्पादनका हिसाबले पनि नयाँ पन्च ईभीलाई थप सक्षम बनाइएको छ। यसमा जडान गरिएको नयाँ मोटरले गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति केवल ९ सेकेन्डमा पुर्याउन सक्ने कम्पनीको दाबी छ। साथै तीनवटा ड्राइभ मोड र चार तहको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली उपलब्ध गराइएकाले विभिन्न सडक अवस्था र चालकको आवश्यकता अनुसार ड्राइभिङ अनुभव अनुकूल बनाउन सकिने बताइएको छ।
नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएमसम्मको वाटर वेडिङ क्षमता दिइएको छ। यसले उबडखाबड सडक, वर्षायाममा पानी जमेको क्षेत्र तथा ग्रामीण मार्गमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको विश्वास छ।
चार्जिङ प्रविधिमा पनि सुधार गरिएको छ। कम्पनीका अनुसार डीसी फास्ट चार्जर प्रयोग गर्दा गाडीको ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट मात्र लाग्छ। यस्तै, केवल १५ मिनेटको फास्ट चार्जबाट करिब १३५ किलोमिटरसम्म यात्रा गर्न पुग्ने ऊर्जा प्राप्त गर्न सकिने दाबी गरिएको छ, जसले लामो यात्राका क्रममा चार्जिङका लागि धेरै समय कुर्नुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ।
बाह्य डिजाइनमा एलईडी हेडलाइट, डे–टाइम रनिङ लाइट (डीआरएल), कनेक्टेड एलईडी टेललाइट तथा १६ इन्चसम्मका आकर्षक अलोय ह्विल समावेश गरिएको छ। इन्टेरियरमा भने प्रिमियम डुअल–टोन ड्यासबोर्ड, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायरजस्ता आधुनिक सुविधा उपलब्ध गराइएको छ।
सुरक्षाका दृष्टिले पनि नयाँ पन्च ईभीलाई थप मजबुत बनाइएको कम्पनीले जनाएको छ। गाडीमा हिल होल्ड असिस्ट, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) तथा आइसोफिक्स चाइल्ड सिट माउन्ट स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ। यसका अतिरिक्त ३६० डिग्री क्यामेरा प्रणालीले पार्किङ तथा भीडभाडयुक्त सडकमा सुरक्षित र सहज सञ्चालनमा सहयोग पुर्याउने कम्पनीको दाबी छ।











