नेपाललाई उत्पादन केन्द्र बनाउने योजनामा पर्फेट्टी भान मेल्ले

काठमाडौं । विश्वप्रसिद्ध कन्फेक्सनरी कम्पनी पर्फेट्टी भान मेल्लेले नेपालमा लगानी विस्तार गर्दै औद्योगिक उत्पादन र निर्यात प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
कम्पनीका नेपालका कन्ट्री म्यानेजर मयंक पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अर्थ मन्त्रालयमा भेट गरी नेपालमा कम्पनीको लगानी, उत्पादन विस्तार र औद्योगिक विकासका विषयमा छलफल गरेका हुन्। कम्पनीका अनुसार भेटवार्तामा स्थानीय उत्पादन, लगानीमैत्री वातावरण तथा औद्योगिक विकासका विषयमा सकारात्मक संवाद भएको थियो।
पर्फेट्टी भान मेल्लेले सन् २०२४ देखि नेपालमा आफ्नै उत्पादन केन्द्र सञ्चालन गर्दै सेन्टर फ्रुट र सेन्टर फ्रेश च्युइङगम उत्पादन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार नेपालमा उत्पादन सुरु भएपछि स्थानीय रोजगारी सिर्जना हुनुका साथै नेपालमै उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेका छन्।
भेटका क्रममा कन्ट्री म्यानेजर पाण्डेले स्थिर सरकार र उद्योगमैत्री नीतिका कारण नेपालमा लगानीको वातावरण थप अनुकूल बन्दै गएको बताए। उनले हालैको बजेटमार्फत कच्चा पदार्थ तथा उत्पादनमा प्रयोग हुने सामग्रीको भन्सार महसुल संरचनामा गरिएको सुधारका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गर्दै त्यसबाट स्वदेशी उत्पादनको लागत घट्न र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्न सहयोग पुगेको उल्लेख गरे।
उनले कम्पनीले नेपालको उत्पादन सम्भावनामाथिको विश्वास बढाउँदै आफ्नो प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ३.८ मिलियन अमेरिकी डलरसम्म विस्तार गरेको जानकारी पनि दिए।
अर्थमन्त्री डा. वाग्लेले पर्फेट्टी भान मेल्लेको निरन्तर लगानीको स्वागत गर्दै यसले नेपालको औद्योगिक विकास, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले स्थानीय उत्पादन र मूल्य अभिवृद्धिमार्फत नेपाललाई प्रतिस्पर्धी उत्पादन केन्द्रका रूपमा विकास गर्न यस्ता लगानीले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।











