सरकार र चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएसँगै चिकित्सकहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । ऐनमा रहेका व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।
यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन गर्ने तथा कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।
सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेका आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।











