दाङमा मलखाद बोकेको बोलेरो पल्टियो, एक जनाको मृत्यु तीन घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका –०५, चिसापानीस्थित लमही–कोइलाबास सडक–खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको थियो । दुर्घटनाका भएको बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका –०६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाएका थिए ।
दुर्घटनामा परी घाइते भएका तीन जनाको लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ । गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका –०६, गढवा बजारका २६ वर्षीय सागर कुमाललाई टाउकोमा गम्भीर चोट लागेपछि प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र त्यसपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा बुधबार राति करिब ११ः१५ बजे उनको मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको छ ।











