सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’ रेटिङ पुनः पुष्टि, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा सुदृढ

१४ श्रावण २०८३, बिहीबार १२:२६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा दायित्व बहन गर्ने सामर्थ्यलाई पुनः पुष्टि गर्दै इक्रा नेपालले कम्पनीको जारीकर्ता मूल्याङ्कन ‘ए’ स्तरमै यथावत् कायम राखेको छ। यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट पनि कम्पनीलाई हटाइएको हो ।

इक्रा नेपालले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार ‘ए’ स्तरको जारीकर्ता मूल्याङ्कनले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको, जोखिमको स्तर न्यून रहेको तथा समग्र साख सन्तोषजनक रहेको संकेत गर्दछ। कम्पनीले पछिल्लो अवधिमा देखाएको वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा पुनर्बीमा संरचनाका कारण मूल्याङ्कन यथावत् कायम राखिएको इक्रा नेपालले जनाएको छ।

प्रतिवेदनअनुसार २०८२ साल भदौमा भएको दङ्गाबाट उत्पन्न बीमा दाबीहरूको प्रभाव कम्पनीले प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता देखाएको छ। यही कारण कम्पनीलाई ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट हटाइएको हो। इक्रा नेपालले कम्पनीको तरलता अवस्था तथा पुँजीगत आधार दुवै दृष्टिले सुदृढ रहेको निष्कर्ष निकालेको छ।

२०२६ जुलाई २२ सम्मको विवरणअनुसार कम्पनीले करिब पाँच अर्ब ७२ करोड ३० लाख रुपैयाँ बराबरका बीमा दाबी प्राप्त गरेको छ। तीमध्ये कम्पनीले आफैं व्यहोर्नुपर्ने हिस्सा करिब ११ प्रतिशत अर्थात् करिब ६३ करोड ६० लाख रुपैयाँ रहेको छ। इक्रा नेपालद्वारा मूल्याङ्कन गरिएका अन्य कम्पनीहरूमध्ये कम्पनीले वहन गर्नुपर्ने रकम उच्च भए पनि नियमित बीमा व्यवसायबाट प्राप्त करिब ५४ करोड ४० लाख रुपैयाँ बराबरको अन्डरराइटिङ प्रोफिटले यसको ठूलो हिस्सा व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको नाफालाई वार्षिकीकरण गर्दा करिब ३३ करोड १० लाख रुपैयाँ बराबरको लगानी आम्दानी प्राप्त हुने अनुमान गरिएको छ।

इक्रा नेपालका अनुसार कम्पनीले आफ्नो वहन सीमाभन्दा माथिका दाबीका लागि प्रभावकारी पुनर्बीमा व्यवस्था कायम राखेको छ। सुदृढ खुद सम्पत्ति, पर्याप्त तरल सम्पत्ति तथा प्रभावकारी पुनर्बीमा सुरक्षाका कारण कम्पनीले आफ्ना सबै दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता राखेको मूल्याङ्कन गरिएको छ।

कम्पनीको लामो सञ्चालन अनुभव, व्यवस्थित व्यवस्थापन प्रणाली तथा संस्थागत क्षमता पनि मूल्याङ्कनका महत्वपूर्ण आधार बनेका छन्। जोखिममा आधारित पुँजी प्रणालीअनुसार मध्य जुलाई २०२५ सम्म कम्पनीको नियामकीय पुँजी पर्याप्तता अनुपात ३.८५ गुणा पुगेको छ जुन नियामकले तोकेको न्यूनतम १.३ गुणाभन्दा निकै माथि हो। अघिल्लो वर्ष मध्य जुलाई २०२४ मा यो अनुपात ३.१८ गुणा रहेको थियो। यसले कम्पनीको पुँजीगत आधार थप सुदृढ हुँदै गएको स्पष्ट संकेत गरेको इक्रा नेपालले जनाएको छ।

त्यसैगरी, कम्पनीको तरलता अवस्था पनि सन्तोषजनक रहेको उल्लेख गरिएको छ। मध्य अप्रिल २०२६ सम्म कम्पनीको तरल सम्पत्ति र खुद बीमा सम्झौता दायित्वबीचको अनुपात ३.१ गुणा रहेको छ। दाबी व्यवस्थापन सफलतापूर्वक अघि बढाइरहेका कारण कम्पनीसँग आफ्ना दायित्व पूरा गर्न पर्याप्त तरल स्रोत उपलब्ध रहेको इक्रा नेपालको निष्कर्ष छ।

इक्रा नेपालले कम्पनीको पुँजी पर्याप्ततामाथि दीर्घकालीन रूपमा कुनै उल्लेखनीय असर नपर्ने अपेक्षा पनि गरेको छ। कम्पनीले सञ्चित नाफा कायम राख्न सकेमा यसको पुँजीगत अवस्था थप मजबुत रहने विश्वास व्यक्त गरिएको छ।

कम्पनीको पुनर्बीमा संरचनालाई पनि इक्रा नेपालले विशेष रूपमा सुदृढ मानेको छ। सामान्य बीमा दाबीका साथै प्राकृतिक प्रकोप, विपत्तिजन्य तथा ठूलो क्षति हुने घटनाबाट उत्पन्न हुने असाधारण दाबीसमेत प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने गरी पुनर्बीमा व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ। यसले कम्पनीलाई आफ्ना दायित्व समयमै पूरा गर्न तथा पुँजी पर्याप्तता कायम राख्न थप सक्षम बनाएको इक्रा नेपालले जनाएको छ।

प्रपोर्सनल पुनर्बीमा सम्झौताका लागि बेस्ट मेरिडियन अन्तर्राष्ट्रिय इन्स्योरेन्स कम्पनी प्रमुख पुनर्बीमाकर्ताका रूपमा रहेको छ भने नन्-प्रपोर्सनल तथा विपत्तिजन्य जोखिमका लागि हानोभर पुनर्बीमा कम्पनीसँग पुनर्बीमा व्यवस्था गरिएको छ। यी दुवै अन्तर्राष्ट्रिय पुनर्बीमा संस्थाको सुदृढ वित्तीय अवस्था तथा उच्च साखले कम्पनीको जोखिम व्यवस्थापन प्रणालीलाई थप विश्वसनीय बनाएको इक्रा नेपालले उल्लेख गरेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड एक निर्जीवन बीमा कम्पनी हो । जुन सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (अप्रिल २००६ देखि सञ्चालनमा रहेको) र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (सन् १९९४ देखि सञ्चालनमा रहेको) बीच २०२३ को मार्च महिनामा भएको एकीकरणबाट स्थापना भएको हो। कम्पनीको मुख्य कार्यालय काठमाडौंको बबरमहलमा रहेको छ।

मध्य–अप्रिल २०२६ सम्म कम्पनीका प्रमुख सेयरधनीहरूमा रामलाल श्रेष्ठ (करिब ६.२ प्रतिशत), सिद्धार्थ बैंक (करिब ५.७ प्रतिशत) र बालकृष्ण श्रेष्ठ (करिब ३.५ प्रतिशत) सहित अन्य सेयरधनीहरू रहेका छन्। कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात ५१ः४९ रहेको छ। मध्य–अप्रिल २०२६ सम्म कम्पनीले १२८ वटा शाखा कार्यालयहरूको सञ्जालमार्फत सेवा सञ्चालन गरिरहेको थियो। कम्पनीले आर्थिक वर्ष २०८२।८३ को पहिलो ९ महिनामा ४ करोड रुपैयाँ करपछिको नाफा आर्जन गरेको थियो भने कम्पनीको कुल सम्पत्ति १२ अर्ब ८९ करोड १० लाख रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ७५ करोड ६० लाख रुपैयाँ करपछिको नाफा कमाएको थियो भने मध्य–जुलाई २०२५ सम्म कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७७ करोड ८० लाख रुपैयाँ रहेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*