सरकारद्वारा चार सचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्नुका साथै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
मुख्यसचिव गोविन्द कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ। गत माघमा मात्र सञ्चार मन्त्रालयमा सरुवा भएकी बस्नेत छ महिनामै पुनः सरुवामा परेकी हुन्।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। अनिवार्य अवकाश नजिकिएकाले उनलाई अतिरिक्त समूहमा राखिएको जनाइएको छ।
त्यसैगरी, बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ।











