वर्षाका कारण देशका सात प्रमुख राजमार्ग अझै अवरुद्ध

काठमाडौं । निरन्तर वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गहरू अझै पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने केही सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नेपाल प्रहरीले साउन १४ गते दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुनेछ ।
यस्तै मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षायामका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । उक्त सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलो बनेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि सो क्षेत्रमा वैकल्पिक सडकमार्फत आवागमनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा माथिबाट पहिरो तथा लेदोसहित ढुंगा खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडक खण्ड अवरुद्ध भएको थियो । पछि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । यस्तै ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि कान्तिलोकपथ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।











