सुनसरी घटना र जातीय द्वन्द्वबाट राजा ज्ञानेन्द्र शाह दुःखी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लामा भएको जातीय तनाव तथा त्यसबाट उत्पन्न हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र एकताको मार्गमा अघि बढ्न आग्रह गरेका छन्।
साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको ‘सद्भाव सन्देश’मा पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले यही विविधताबीचको एकता नै नेपालको पहिचान र गौरव रहेको उल्लेख गरेका हुन् ।
सन्देशमा नेपाली समाज सुरुदेखि नै परस्पर मिलेर, एकअर्काप्रति माया, सद्भाव र सम्मानका साथ जीवनयापन गर्दै आएको उल्लेख गर्दै सबै समुदायले आफ्ना-आफ्ना धर्म, संस्कृति, आस्था र परम्परालाई सम्मान गर्दै आएको परम्परालाई जोगाइराख्नुपर्नेमा जोड दिइएको छ। यही विशिष्ट धार्मिक, सांस्कृतिक तथा सामाजिक विशेषताका कारण नेपालले विश्वमा सम्मान प्राप्त गरेको भन्दै यसमा कसैले पनि खलल पुर्याउने काम गर्न नहुने उनको भनाइ छ।
पूर्वराजा शाहले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिँदै जनजीवन अशान्त बनेकोप्रति आफू अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्।
नेपाललाई विभिन्न समुदायबीच आपसी सामञ्जस्य कायम रहेको देशका रूपमा चिनिने उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना र दुर्घटनाले देशको मौलिक मूल्य, मान्यता र सामाजिक सद्भावमा आघात पुग्ने बताएका छन्।












