नेपालमै पहिलोपटक नयाँ प्रविधिबाट मुटुका तीन भल्भको सफल शल्यक्रिया

१४ श्रावण २०८३, बिहीबार १६:१९

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले नेपालमै पहिलोपटक ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी (मिक्स)’ प्रविधिमार्फत एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया गरेको जनाएको छ।

अस्पतालका कार्डियाक विभाग प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा चिकित्सकहरूको टोलीले करिब तीन घण्टाको शल्यक्रियामार्फत जटिल मानिने उक्त उपचार सफलतापूर्वक सम्पन्न गरेको हो। अस्पतालका अनुसार यो प्रविधिबाट एउटै बिरामीका तीन वटा मुटुका भल्भमा एकैपटक शल्यक्रिया गरिएको नेपालकै पहिलो घटना हो।

शल्यक्रिया काठमाडौंका ५२ वर्षीय एक पुरुषमा साउन ५ गते गरिएको थियो। उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र अस्पतालबाट डिस्चार्जसमेत भइसकेको अस्पतालले जनाएको छ। शल्यक्रियाका क्रममा दुई वटा भल्भ प्रत्यारोपण गरिएको तथा एउटा भल्भ मर्मत गरिएको थियो।

डा. भट्टराईका अनुसार बिरामी केही महिनाअघि स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका थिए। परीक्षणका क्रममा उनलाई श्वास फेर्न कठिनाइ हुने, सामान्य हिँडडुलमै अत्यधिक स्वाँस्वाँ हुनेलगायत समस्या देखिएको थियो। विस्तृत परीक्षणपछि मुटुका तीन वटा भल्भमा गम्भीर समस्या रहेको पुष्टि भएपछि शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताए।

उनका अनुसार ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी’ विधिमा छातीको हड्डी चिर्नुपर्ने आवश्यकता पर्दैन। यसको सट्टा काखीमुनि सानो चिरा बनाएर शल्यक्रिया गरिने भएकाले बिरामीलाई कम पीडा हुने, संक्रमणको जोखिम घट्ने र अस्पतालमा बस्नुपर्ने समय पनि छोटिने फाइदा हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*