राष्ट्रपति पौडेलको आह्वान: ‘शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाऔँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र गौरवशाली परम्परा भएको उल्लेख गरेका छन्।
उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति–सुरक्षाको अवस्था पूर्ववत् कायम गर्न तथा नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गरेका छन्।
अपिलमा उनले अहिलेको कठिन परिस्थितिलाई थप जटिल बन्न नदिन समुदायबीच एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबैसँग हार्दिक अपिल गरेका छन्।











