बाबा रामदेवले पतञ्जलीको सफलतापछि बीमा कम्पनी चलाउदै

१४ श्रावण २०८३, बिहीबार १७:३७

काठमाडौं । उपभोक्ताले अहिलेसम्म पतञ्जलिका टूथपेस्ट, फेसवास वा घिउ जस्ता उत्पादनहरू प्रयोग गर्दै आएका छन्। अब भने बाबा रामदेवको पतञ्जलिको बीमा कम्पनी चलाउने भएको छ ।
बाबा रामदेव नेतृत्वको पतञ्जलि आयुर्वेदले उपभोक्ता वस्तु र आयुर्वेदिक उत्पादनको क्षेत्रबाट बाहिरिँदै वित्तीय सेवा क्षेत्रमा सबैभन्दा ठूलो कदम चालेको छ।

भारतको बीमा नियामक तथा विकास प्राधिकरण ले पतञ्जलिलाई मग्मा जनरल इन्स्योरेन्स अधिग्रहण गर्न स्वीकृति दिएपछि कम्पनीले भारतको तीव्र गतिमा विस्तार भइरहेको साधारण बीमा बजारमा औपचारिक प्रवेश गर्ने बाटो खुलेको हो।

करिब ४ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको यो अधिग्रहण डीएस ग्रुपसँगको साझेदारीमा सम्पन्न हुन लागेको हो। डीएस ग्रुप भारतमा खाद्य तथा कन्फेक्सनरी व्यवसायका लागि परिचित कम्पनी हो।
सम्झौताअनुसार पतञ्जलि आयुर्वेदले मग्मा जनरल इन्स्योरेन्सको ७३.५६ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ भने डीएस ग्रुपको २४.५ प्रतिशत हिस्सेदारी रहनेछ। यससँगै दुवै कम्पनीले संयुक्त रूपमा बीमा कम्पनीको करिब ९८ प्रतिशत स्वामित्व आफ्नो नियन्त्रणमा लिनेछन्। उक्त हिस्सा हाल अदार पुनावाला समूहअन्तर्गत रहेको सानोटी प्रोपर्टिज एलएलपी लगायतका विद्यमान लगानीकर्ताको स्वामित्वमा रहेको छ।

मग्मा जनरल इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसाय निरन्तर विस्तार गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०२५÷२६ ( मा ३ हजार ६१५.४८ करोड भारतीय रुपैयाँ बराबरको ग्रस रिटेन प्रिमियमसंकलन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ३ हजार ३३४.४ करोड रुपैयाँ रहेको थियो।

कम्पनीले मोटर, स्वास्थ्य, सम्पत्ति तथा व्यावसायिक बीमालगायत विभिन्न साधारण बीमा क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। साथै, हजारौं बीमा अभिकर्ता, कर्पोरेट ग्राहक, वित्तीय सेवा साझेदार तथा सवारीसाधन उत्पादक कम्पनीमार्फत यसको वितरण सञ्जाल देशभर फैलिएको छ।

यो अधिग्रहणले भारतका ठूला व्यावसायिक समूहहरू वित्तीय सेवा क्षेत्रमा नयाँ कम्पनी स्थापना गर्नुको सट्टा विद्यमान संस्थाको अधिग्रहणमार्फत प्रवेश गर्ने प्रवृत्ति बलियो बन्दै गएको संकेत गरेको छ।

नियामकीय प्रक्रिया निर्धारित समयभित्र पूरा भएमा पतञ्जलि आयुर्वेद भारतको साधारण बीमा उद्योगमा नयाँ तथा प्रभावशाली खेलाडीका रूपमा स्थापित हुनेछ। यसले भारतीय बीमा बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*