सुनसरी, सिरहा हत्या काण्डको निष्पक्ष छानविन गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका बालेन शाहले सुनसरी, सिरहा तीन जना युवाको ज्यान जाने भएको गोली काण्डको छानविन गर्ने प्रतिबद्धता जनाएका छन् ।
संसदमा छलेर सामाजिक सञ्जालमार्फत राष्ट्रको नाममा सम्बोधन भन्दै जारी गरिएको एक भिडियो सन्देशमा बालेन शाहले भनेका छन्, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’
सम्बोधनमार्फत प्रधानमन्त्रीले घटनामा संलग्न जोकोहीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । घटनामा संलग्न व्यक्ति तथा शान्ति सुरक्षा कायम गराउने नाममा सुरक्षाकर्मीबाट भएको ज्यादती र बल प्रयोगको छानविन कसरी हुन्छ भनेर प्रधानमन्त्रीले स्पष्ट पार्न बाँकी नै छ ।
‘यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले निधन भएकाहरुप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।
बालेन शाहले सामाजिक सञ्जालमा फैलिएको अफवाह र अनावश्यक हल्लाका कारण घटना सामान्य नभएको आशंकामा त्यस्ता कार्य निरुत्साहित गर्न भनेका छन् ।
बालेनले आफ्नो सम्बोधनमा भनेका छन्, ‘धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै हो ।’











