सेबोनले पहिलोपटक परामर्शपत्र सार्वजनिक गर्दै मार्जिन कारोबार र सर्ट सेलिङबारे माग्यो सुझाव

१५ श्रावण २०८३, शुक्रबार ०६:४८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक परामर्शपत्र ‘कन्सल्टेशन पेपर’ सार्वजनिक गरेको छ ।

बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङ लागू गर्न बजारको तयारी तथा सरोकारवालाको राय–सुझाव संकलन गर्न परामर्शपत्र सार्वजनिक गरेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरण चरणबद्ध रूपमा सुरु गर्ने घोषणा गरेपछि बोर्डले आवश्यक कानुनी, संस्थागत र प्राविधिक तयारी अघि बढाएको जनाएको छ ।

बोर्डका अनुसार यी सेवाले पूँजी बजारलाई थप गहिरो, प्रतिस्पर्धी, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्नेछन् । यसका लागि स्पष्ट कानुनी व्यवस्था, बलियो बजार पूर्वाधार, आधुनिक सूचना प्रविधि प्रणाली, प्रभावकारी जोखिम व्यवस्थापन र लगानीकर्ता संरक्षण आवश्यक पर्ने उल्लेख गरिएको छ ।

चार अध्यायमा तयार गरिएको परामर्शपत्रमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङको मोडल प्रस्ताव गरिएको सेबोनले जानकारी दिएको छ ।

यसमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ, धितोपत्र दलाल, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता लगायत सम्बन्धित निकायको भूमिका पनि स्पष्ट गरिएको जनाएको छ ।

बोर्डले परामर्शपत्रमा प्राप्त सुझावका आधारमा मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा कभर्ड सर्ट सेलिङ नियमावली तयार गरी सार्वजनिक गर्ने जनाएको छ । इच्छुक सरोकारवालालाई बोर्डको इमेलमा सुझाव पठाउन सेबोनले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*