आईपीओ वित्तीय पुनरावलोकन मापदण्डबारे मर्चेन्ट बैंकरसँग सेबोनको अभिमुखीकरण

१५ श्रावण २०८३, शुक्रबार ०७:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बोर्डले साउन १४ गते ललितपुरस्थित कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष, पदाधिकारी तथा मर्चेन्ट बैंकर संस्थाका उच्च अधिकारीसहित करिब ६५ जनाको सहभागिता रहेको थियो । उक्त मापदण्ड २०८३ वैशाख १ गतेदेखि लागू गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइएको बताए । उनले सार्वजनिक निष्काशन प्रक्रियामा सुधारका लागि बोर्डले प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र (प्राइमरी मार्केट ह्वाइट पेपर) समेत सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उनका अनुसार श्वेतपत्रले सार्वजनिक निष्काशन प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लगानीकर्ता हित संरक्षण, सुशासन प्रवद्र्धन र पूँजी बजारप्रतिको जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै प्राथमिक बजारको गुणात्मक रूपान्तरण बोर्डको प्रमुख प्राथमिकता रहेको उनले उल्लेख गरे ।

अध्यक्ष भट्टले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरूको महत्वपूर्ण भूमिका रहने भएकाले बजारप्रति जिम्मेवार भई लगानीकर्ताको हकहित संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिए । नयाँ मापदण्डले सार्वजनिक निष्काशन गर्ने कम्पनीहरूको वित्तीय स्वास्थ्य र संस्थागत सुशासन थप सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्लेले मापदण्डका व्यवस्थाबारे विस्तृत प्रस्तुति दिँदै यसको उद्देश्य, कार्यान्वयन प्रक्रिया र सार्वजनिक निष्काशन प्रक्रियामा यसको उपयोगिताबारे जानकारी गराएका थिए ।

उनले सार्वजनिक निष्काशनका लागि पेश गरिने वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्न उक्त मापदण्ड महत्वपूर्ण आधार बन्ने बताए । कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ पनि बोर्ड सदस्यबाट दिइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*