आज साउन १५, देशभर खीर खाएर मनाइँदै
१५ श्रावण २०८३, शुक्रबार ०८:२६

काठमाडौं । आज साउन १५ देशभर परम्परागत रूपमा खीर खाएर मनाइँदैछ । नेपालमा असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा लामो समयदेखि चलिआएको छ ।
वर्षायाममा धान रोपाइँको थकान मेटाउन, दूधको उपभोग बढाउन र पोषिलो आहार लिन यो प्राचीन परम्परा चलिएको हो । हिन्दू धर्ममा खीर (पायस) लाई पवित्र र शुद्ध परिकार मानिन्छ । पूजाआजा, होम र पितृकार्यमा पनि खीर उपयोग हुने गर्छ ।
दूध, चामल, घ्यू र विभिन्न सुक्खा फलफूल (मसाला) हालेर बनाइने खीरले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । वर्षायाममा लाग्न सक्ने विभिन्न संक्रमणबाट बचाउन र शरीरलाई ऊर्जा दिनका लागि पनि खीरलाई लाभदायक मानिन्छ ।











