गुरुपूर्णिमामा गुरु–शिष्य सम्बन्धलाई थप मजबुत बनाउन आह्वान

१५ श्रावण २०८३, शुक्रबार १२:२३

काठमाडौं । गुरुपूर्णिमा २०८३ को अवसरमा सामाजिक संस्था परिवर्तन नेपालले गुरु–शिष्य सम्बन्ध, संस्कार र अनुशासनको महत्व उजागर गर्न विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहन निरौलाको पहलमा साउन १३ गते अनामनगरमा सम्पन्न कार्यक्रममा कला, संस्कृति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व सहभागी भएका थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अभिनेता कृष्ण मल्ल, निर्देशक तथा कलाकार लय संग्रौला, अभिनेत्री सपना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्यका क्रममा परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले गुरुपूर्णिमाको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्वबारे चर्चा गर्दै नेपाली समाजमा गुरुको स्थान सधैँ उच्च रहेको बताए ।

मुख्य अतिथि दिनेश डिसीले गुरुको सम्मान कुनै एक दिनमा मात्र सीमित नहुने उल्लेख गर्दै गुरुबाट प्राप्त ज्ञान, अनुशासन र संस्कारलाई दैनिक जीवनमा अपनाउनुपर्ने धारणा राखे । उनले माता–पिता र गुरुको सम्मान नै जीवन सफल बनाउने आधार भएको बताए ।

अभिनेता कृष्ण मल्लले यस्ता कार्यक्रमले गुरु–शिष्य सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । सफलता हासिल गरेपछि पनि आफ्नो जीवन निर्माणमा योगदान दिने गुरु र अभिभावकलाई कहिल्यै बिर्सन नहुने धारणा राखे । निर्देशक लय संग्रौलाले जीवनका पहिलो गुरु आमा, मार्गदर्शक बुबा र औपचारिक शिक्षा दिने शिक्षकको भूमिका सधैँ सम्मानयोग्य रहने बताउ । उलने गुरु र शिष्यबीचको सम्बन्ध समय र दूरीले कमजोर नहुने उल्लेख गर्दै संस्कारको संरक्षणमा जोड दिए ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गुरुबाट सिकेका ज्ञान, अनुशासन र नैतिक मूल्यलाई व्यवहारमा लागू गर्नु नै साँचो गुरुदक्षिणा भएको बताए । कार्यक्रमको समापनमा अध्यक्ष मोहन निरौलाले समाजमा गुरुको योगदान बिर्सने प्रवृत्ति बढ्दै गएको भन्दै नयाँ पुस्तामा सम्मान, अनुशासन र संस्कार हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*