निरन्तर घट्दै बैंकहरुको बेस रेट, साउनमा कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले तरलता अधिक भए पनि आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून छ । यसले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन र आधार दर घटाउन प्रेरित गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।
आधार दरलाई ध्यानमा राख्दै सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूले राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकजस्ता बैंकहरूलाई प्राथमिकता दिन सक्ने देखिएको छ । यद्यपि, ग्राहकहरूले कर्जाको प्रकृति, बैंकको सेवा स्तर र अन्य शुल्कहरू समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।
एक महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर ०.०९ प्रतिशत विन्दुले घटेको छ । असारमा ४.९७ प्रतिशत रहेको वाणिज्य बैंकको आधार दर साउनमा घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ ।
साउन महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकले ऋण प्रदान गर्ने देखिन्छ । हाल बैंकको आधार दर ०.५ प्रतिशतले घटेर ४.२७ प्रतिशत कायम भएको छ ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर पनि ४.२१ प्रतिशत, एभरेष्ट बैंकको ४.३८ प्रतिशत, नबिल बैंकको ४.४४ प्रतिशत, नेपाल बैंकको ४.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.६४ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७५ प्रतिशत, कृषि विकास बैंकको ४.७९ प्रतिशत र सानिमा बैंकको ४.९२ प्रतिशत रहेको छ ।
अन्य ११ बैंकको बेसरेट ५ प्रतिशतभन्दा माथि रहेको छ ।
सर्वाधिक आधार दर हुनेमा एनआईसी एशिया बैंक र नेपाल एसबिआई बैंक अघि रहेको देखिन्छ । यी बैंकहरुको क्रमशः ५.९१ प्रतिशत र ५.२१ प्रतिशत आधार दर रहेको छ । जस कारण ग्राहकले यी बैंकबाट ऋण लिदा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ ।












