ग्यास अभावबीच विभागको कडाइ, काठमाडौं–ललितपुरका सात फर्म कारबाहीको दायरामा

१५ श्रावण २०८३, शुक्रबार १८:३९

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव र कृत्रिम संकटको गुनासो बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न ग्यास विक्रेता तथा व्यवसायिक फर्ममा अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम गरिएको अनुगमनका क्रममा सात वटा उद्योग तथा व्यवसायिक फर्मलाई विभिन्न निर्देशन दिएको जनाएको छ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१० चाँदनीनगरस्थित युवा इन्टरप्राइजेजलाई व्यवसाय दर्ता, इजाजतपत्र, प्यान, कर चुक्ता प्रमाणपत्र, ग्यास विक्रेताको इजाजत तथा २०८३ साउन १ गतेदेखि हालसम्म विभिन्न कम्पनीका ग्यास खरिद–बिक्रीका बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–१० पुष्पनगर मार्गस्थित बाईजुराज सप्लायर्सलाई ग्यास सिलिण्डरको सहज आपूर्ति सुनिश्चित गर्न तथा बिलबिजकबिनाको कारोबार नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।

काठमाडौं महानगरपालिका–१० सहभागिता मार्गस्थित पी. भी. ग्यास स्टोरलाई ग्यास वितरणसम्बन्धी मापदण्ड पालना गर्दै बिक्री–वितरण गर्न, कारोबारसम्बन्धी अभिलेख व्यवस्थित राख्न तथा खरिद–बिक्रीका बिल नियमित रूपमा व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रातो भाले रेष्टुरेन्ट एण्ड होटेललाई बिलबिजकको अनिवार्य प्रयोग गर्न तथा सरसफाइ व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिइएको विभागले जनाएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मार्बल प्यालेस इन्डष्ट्रिज प्रालि, ललितपुर–१५ सातदोबाटोस्थित फ्रुट एण्ड जुस पसल तथा मन्न बेकरी एण्ड कन्फेक्सनरीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*