सप्तरीमा कर्फ्यू चार घण्टा खुकुलो, बिहान ७ देखि ११ बजेसम्म किनमेल गर्न पाइने

१७ श्रावण २०८३, आईतवार ०७:२८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रका तोकिएका स्थानमा जारी कर्फ्यू आदेश चार घण्टाका लागि खुकुलो बनाएको छ ।

जिल्ला सुरक्षा समितिको २०८३ साउन १७ गते बसेको बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न कर्फ्यू खुकुलो गरिएको हो ।

यस अवधिमा हुलदंगा वा अशान्ति फैलाउने उद्देश्यले एकै स्थानमा पाँच जनाभन्दा बढी भेला भएर उच्छृंखल गतिविधि गर्न भने प्रतिबन्ध लगाइएको छ । त्यस्तो गतिविधि भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।

त्यस्तै घटना सम्बन्धित विषयमा शान्ति तथा सद्भाव कायम गर्ने उद्देश्यले र्‍याली गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट पूर्वअनुमति लिनुपर्नेछ । अनुमति लिएर र्‍याली गरिएको अवस्थामा तोकिएको कर्फ्यू सो अवधिका लागि निष्क्रिय हुने प्रशासनले जनाएको छ । बिहान ११ बजेपछि भने दुवै नगरपालिका क्षेत्रभित्र यसअघि जारी कर्फ्यू आदेश अर्को आदेश नभएसम्म निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*