गोठाटारमा काठको गोदाममा आगलागी, १४ सटरमा क्षति

१७ श्रावण २०८३, आईतवार ०८:००

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति काठको गोदाममा आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट आगो लाग्न शुरु भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । नौ वटा दमकल र तीन वटा पानी ट्याङ्कर तथा स्थानीयको सहयोगमा राति करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीका क्रममा टहराको जस्ताबाट खस्दा कागेश्वरी मनोहरा–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । उनको मुलपानीस्थित नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

आगलागीबाट काठ तथा फर्निचरका पसलसँगै रिकन्डिसन, हेल्मेट, रङ, मोबाइल, हार्डवेयर, मिठाइ, चिया, किराना, कस्मेटिक र स्टेशनरी पसलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*