‘वास्तविक पीडितलाई बेवास्ता गरियो’ भन्दै राजधानीमा लघुवित्त पीडितको मार्चपास

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले सरकारले हालै गरेको सहमति अस्वीकार्य भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएको छ। आन्दोलनकै कार्यक्रमअन्तर्गत आइतबार राजधानीमा थापाथलीस्थित राम मन्दिरदेखि माइतीघर मण्डलासम्म मार्चपास गरिएको हो।
गत शुक्रबार सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच भएको सहमतिले वास्तविक पीडितको माग सम्बोधन नगरेको दाबी गर्दै किसान–मजदुर आन्दोलनले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको जनाएको छ। आन्दोलनरत पक्षले सहमति सीमित समूहसँग गरिएको र लामो समयदेखि संघर्षरत वास्तविक पीडितलाई बेवास्ता गरिएको आरोप लगाएको छ।
मार्चपासका क्रममा सहभागीहरूले लघुवित्त पीडितका मागलाई सम्बोधन गर्न, ऋण तथा चर्को ब्याजका कारण समस्यामा परेका नागरिकलाई राहत दिन र आफूहरूले उठाउँदै आएका मुद्दामा सरकार गम्भीर बन्नुपर्ने माग गरेका थिए।
आन्दोलनका नेताहरूले पाँच वर्षदेखि निरन्तर आन्दोलन गरिरहेका वास्तविक पीडितलाई पन्छाएर अर्को समूहसँग सरकारको सहमति भएको आरोप लगाए। उनीहरूका अनुसार यस्तो सहमतिले लघुवित्त पीडितको साझा हितको प्रतिनिधित्व नगर्ने भएकाले आन्दोलन अझ सशक्त रूपमा अघि बढाइनेछ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, केन्द्रीय समितिका इन्चार्ज सुरेश घिमिरेले देशभर करिब ६० लाख लघुवित्त पीडित रहेको दाबी गर्दै तीमध्ये अधिकांशले सरकार र संघर्ष समितिबीच भएको सहमतिप्रति असहमति जनाएको बताए।











