सुस्तामा सीमा तनावः भारतीय एसएसबीले नेपाली भूभागको बाँध भत्कायो

१७ श्रावण २०८३, आईतवार १७:५६

काठमाडौँ ।  पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा वर्षायामको बाढीबाट जोगिन स्थानीयले निर्माण गरिरहेको अस्थायी माटोको बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएपछि आइतबार सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।

स्थानीयका अनुसार शनिबारदेखि सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा पानीको बहाव नियन्त्रण गर्न माटोको अस्थायी बाँध निर्माण सुरु गरिएको थियो। तर, आइतबार भारतीय पक्षका सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन बाँध हटाएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन्।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले सुरुदेखि नै भारतीय पक्षले बाँध निर्माणमा अवरोध गर्दै आएको दाबी गरे। उनका अनुसार दुवै पक्षबीचको समझदारीअनुसार वर्षाको भेल रोक्न १३२ मिटर क्षेत्रमा माटो राखिएको भए पनि भारतीय सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित आएर उक्त संरचना हटाएका थिए।

घटनापछि स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केहीबेर विवादको अवस्था सिर्जना भएको बताइएको छ। स्थानीयले नेपाली भूभागमै निर्माण भइरहेको बाँध भत्काइएको भन्दै विरोध जनाएका छन्।

‘सुस्ता बचाउ युवा अभियान’ का संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी सीमा संकेतका रूपमा रहेको सिमलको रूखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*